मन्त्री गुप्ता प्रकरणले तरंग : प्रधानमन्त्री ओलीले बोलाए क्याबिनेट

by cityhalkhabar
2 views

काठमाडौं, – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेन प्रकरणमा मुछिएर राजनीतिक वृत्त तरंगित भएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयले बैठकलाई ‘नियमित’ भनेर दाबी गरे पनि मन्त्री गुप्ताको विवादास्पद अडियो प्रकरण सार्वजनिक भएपछिको पहिलो बैठक भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ । सामान्यतया मन्त्रिपरिषद्का नियमित बैठकहरू हरेक सोमबार बस्ने गर्छन् ।

मन्त्री गुप्तामाथि भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ गरेको आरोप लागेको छ । उक्त प्रकरणले सरकारको छविमा धक्का लागेको र प्रधानमन्त्रीमाथि मन्त्री गुप्तालाई पदमुक्त गर्न चौतर्फी दबाब बढेको छ । विपक्षी दलहरूले मात्र नभई सत्तारुढ दलभित्रै पनि यो विषयले असहजता पैदा गरेको छ ।