घुस प्रकरणमा मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई गगन थापाको दबाब

by cityhalkhabar
1 views

काठमाडौं – कांग्रेसका महामन्त्री गगन थापाले उनलाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष जोडदार माग गरेका छन् ।मन्त्री गुप्ताको विवादास्पद अडियोले राजनीतिक वृत्तमा हलचल मच्चिएका बेला सत्तारुढ गठबन्धनकै एक प्रमुख नेताबाट यस्तो कडा अभिव्यक्ति आएको हो । थापाले बहालवाला मन्त्रीमाथि गम्भीर आरोप लाग्दा पनि प्रधानमन्त्रीले तुरुन्त कदम नचालेकोमा आश्चर्य प्रकट गरे ।

सोमबार कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘मेरो अपेक्षा त प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहुन्छ र यसबारे टिप्पणी नै गर्नु पर्दैन भन्ने थियो । तर, टिप्पणी गर्नुपर्ने अवस्था आयो ।’

उनले मन्त्री गुप्ताको नैतिकतामाथि प्रश्न उठाउँदै भने, ‘बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ‘ममाथि छानबिन होस्’ भन्नुपर्थ्यो । तर, आफूले गल्ती गरेको होइन भन्ने आँट पनि देखिएन ।’

प्रधानमन्त्री ओलीलाई सीधा सम्बोधन गर्दै थापाले थपे, ‘प्रधानमन्त्री ज्यूलाई अनुरोध गर्छु, तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।”

महामन्त्री थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्रै नपुग्ने भन्दै घटनाको निष्पक्ष र गहिरो छानबिन हुनुपर्नेमा जोड दिए । ‘यतिको कुरा आइसकेपछि यसको दूधको दूध, पानीको पानी हुनैपर्छ,’ थापाले भने, ‘छानबिन गर्दै जाँदा अन्य को-को संलग्न छन्, तिनीहरूको पनि पहिचान हुनुपर्छ । अनुसन्धानका क्रममा दोषी देखिने जो-कोहीलाई पनि पद र पहुँचको ख्याल नगरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।’