काठमाडौं, – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री बहादुरसिं लामालाई हराउँदै बानियाँ नेता निर्वाचित भएका हुन् । बानियाँले २२ मत र लामाले १४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले बताए ।
एक मत बदर भएको छ । गत साउन ९ गते लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसकै प्रक्रिया स्वरूप मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो । विपक्षमा २२ मत परेसँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको लागि निर्वाचन भएको हो ।
यसअघि २०७९ पुसमा भएको दल नेताको निर्वाचनमा बानियाँलाई हराउँदै लामा विजयी भएका थिए । लामाले २१ मत र बानियाँले १६ मत प्राप्त गरेका थिए । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति बानियाँ दल नेता निर्वाचित भएपछि मुख्यमन्त्री लामालाई नैतिक संकट परेको छ । यद्यपि आजै तीन जना नयाँ मन्त्री नियुक्त गरेरे लामाले सहजै मुख्यमन्त्री नछाड्ने स्पष्ट पारेको छ ।