तीनकुने घटनामा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चारजना धरौटीमा छुटे

by cityhalkhabar
2 views

काठमाडौँ – उच्च अदालत पाटनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएसँगै उनलाई आपराधिक उपद्रव, संगठित अपराधमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौँ जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए । पाटन उच्च अदालतले सो चैत १५ को घटनामा उनको प्रत्यक्ष सम्बन्ध नदेखिएको भन्दै उनलाई तारिखमा छाड्न आदेश दिएको हो । त्यस्तै बैंकिङ कसूरको हकमा भने २५ लाख रुपैयाँ धरौटी वा बैंकले जमानत दिए तारिखमा छाड्न आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सो फैसला गरेको हो । तीनकुने घटनामा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सुशिल बराल र तारा राजवादी भन्ने सरोज गौतमलाई ५०–५० हजार रुपैयाँ तथा दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अदालतको सबै प्रक्रिया पूरा भएपछि सोमबार राति उनलाई कारागारबाट छाडिएको हो।

यसअघि काठमाडौँ जिल्ला अदालतले प्रसाईलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता आरोपमा थुनामा पठाएको थियो। सो आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए। बैंकिङ कसुरको मुद्दामा पनि पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले धरौटी माग गरेको थियो।