रास्वपामा ‘विशेष’ व्यक्तिहरू प्रवेश गर्दै, नियमित पत्रकार भेटघाटमार्फत सार्वजनिक

by cityhalkhabar
2 views

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो आफ्नो नियमित मासिक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दैछ । पार्टीले हरेक महिनाको अन्तिम बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने अभ्यासलाई निरन्तरता दिँदै आयोजना गर्न लागेको यस कार्यक्रममा केही विशेष व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने तयारी गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले एक सूचना जारी गर्दै आज अपरान्ह ३:३० बजे केन्द्रीय कार्यालय वनस्थलीमा हुने कार्यक्रममा उपस्थितिका लागि पत्रकारहरूलाई अनुरोध गरेका छन् । सूचनामा भनिएको छ, ‘हरेक महिनाको अन्तिम बिहीबार अपरान्ह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार भेटघाट कार्यक्रमको अभ्यास गरिरहेका छौं । त्यसलाई निरन्तरता दिँदै आज ३:३० बजे पत्रकारहरुसँग भेटघाट कार्यक्रम साथै केही विशेष व्यक्तिहरूको पार्टी प्रवेश कार्यक्रम रहेको छ ।’

रास्वपाले पछिल्लो समय पार्टीको नीति, समसामयिक राजनीतिप्रतिको दृष्टिकोण र भावी कार्यक्रमहरू सार्वजनिक गर्न नियमित पत्रकार भेटघाटलाई माध्यम बनाउँदै आएको छ । आज पार्टी प्रवेश गर्ने ‘विशेष व्यक्ति’हरू को हुन् भन्नेबारे खुलाइएको छैन, जसले राजनीतिक वृत्तमा चासो बढाएको छ ।