काठमाडौँ, २० भदौ – सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले धमाधम निष्क्रिय पार्दै गएका छन् । नेपाल टेलिकम र एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्र प्राप्त गरेपछि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालहरूमा पहुँच बन्द गरेका हुन् । ती बन्द गर्ने क्रम भने पहिले ठूला डिभाइस हुँदै मोबाइलसम्म पुग्ने जनाइएको छ ।
विभिन्न प्रविधिमार्फत चलिरहेका यस्ता सामाजिक संजाल एकैपटक बन्द गर्न नसकिने भएकाले पहिले ठूला डिभाइसमा बन्द गरिएको बताइन्छ । ल्याबटपमा समेत बन्द गरिएका सामाजिक सञ्जाल विशेषगरी फेसबुक चल्न छाडेको छ ।
कार्यालय समयपछि नेपाल दूरसञ्चार प्राधिकरणमा टेलिकम र एनसेलसमेतको बैठक बसेर थप निष्क्रियता पारिने सूचना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयले जनाएको छ ।
नेपाल टेलिकमले एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार यो कदम चालिएको जनाएको छ।
प्राधिकरणले बिहीबार विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउनका लागि पत्र पठाएको थियो । यसमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका प्लेटफर्महरू समावेश छन् । हाम्रोपात्रोसमेत २६ भित्र अटे पनि उसले बिहीबारै दर्ता प्रक्रिया थालेकाले हाम्रो पात्रो बन्द हुने छैन ।
एनसेलले पनि सरकारको निर्देशनबमोजिम आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको बताएको छ।
अनौपचारिक रुपमा सम्पर्कमा आए सामाजिक संजाल
अनौपचारिक रुपमा भने मन्त्रालयको सम्पर्कमा आउन थालेका छन् । मन्त्री गुरुङको सचिवालयका एक सदस्यका अनुसार अनौपचारिक रुपमा उनीहरुले चासो देखाएर कागजात मागेको भए पनि औचारिक रुपमा मन्त्रालयमा आएर निवेदन नदिएसम्म निष्क्रिय प्रक्रिया नरोकिने बताए ।