भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

by cityhalkhabar
3 views

काठमाडौं, १४ वैशाख – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ । उनलाई बैठकले सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो ।सो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो । आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् । सुरुमा कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए । तर, एकताको सन्देश दिनका लागि आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने आवाज कांग्रेसभित्र उठ्दै आएको थियाे ।

उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए । तर, गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन् । यद्यपि, उनले आफूलाई कुनै समूहको लेबल नलगाउन र आफू सभापति थापाको स्पिरिट अनुसार काम गर्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।

पार्टीको आन्तरिक एकताको सन्देश दिन पनि आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने आवाज उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरुले राख्दै आएका छन् । नेपाली कांग्रेसको सभापति गगन थापा भने मोहन आचार्य लाई संसदीय दलको नेता बनाउन चाहेका थिए । आङ्देम्बेलाई शेरबहादुर देउवा र शेखर कोइराला पक्षका नेताहरुले साथ दिएकाले ३८ सदस्यीय कांग्रेस संसदीय दलमा आङ्देम्बेको पक्षमा बहुमत पनि पुग्ने भएकाले सभापित थापा सहमतिमा आएकाे बताइन्छ ।