इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डे पक्राउ

by cityhalkhabar
1 views

काठमाडौं, ३० बैशाख – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन् ।  पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बिहान पक्राउ गरेको हो ।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको विषयमा पाण्डे अनुसन्धानको दायरामा आएका थिए । स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले गत वर्षको असोजमै ४ अर्ब ६० करोडमा एनसेललाई लिलाम विक्री गरेको थियो ।

यस प्रकरणमा यसअघि नै वैशाख २१ मा सीआईबीले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पक्राउ गरेको थियो भने बैशाख २५ गते स्मार्ट टेलिकमकै पलिना श्रेष्ठ र नरेन्द्र उलाक पक्राउ परेका थिए ।

स्मार्ट टेलिकम नवीकरण नगरेका कारण २०८० वैशाखदेखि बन्द रहेको छ । नवीकरण नगरेपछि नेपाल दूरसञ्चार प्राधिकरणको स्वामित्वमा आउनुपर्ने स्मार्ट टेलिकमका उपकरण गैरकानुनी ढङ्गले लिलाम बिक्री गरेको प्रहरीको निष्कर्ष रहेको छ । स्मार्ट टेलिकमले नेपाल सरकारलाई करिब सात अर्ब राजस्व तथा अन्य विभिन्न दायित्व बुझाउन बाँकी रहेको समेत पाइएको छ ।