रोनाल्डोको ‘७’ नम्बर जर्सीभन्दा चर्चामा ‘६’ अंक, विश्वकपमा बने अनौठो संयोगका राजा

by cityhalkhabar
0 views

काठमाडौं, १० असार – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको नाम आउँदा सबैभन्दा पहिले सम्झना आउने कुरा हो उनको चर्चित ७ नम्बर जर्सी। तर फिफा विश्वकप २०२६ मा उज्वेकिस्तानविरुद्धको खेलपछि भने रोनाल्डोको चर्चाgoogle ७ होइन, ‘६’ अंकका कारण चुलिएको छ।

अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले पराजित गर्दा ४१ वर्षीय रोनाल्डोले दुई गोल गरे। तर यो खेल केवल गोलका कारण मात्र विशेष बनेन। रोनाल्डोसँग जोडिएका ‘६’ अंकका अद्भुत संयोगले विश्व फुटबल समर्थकको ध्यान खिच्यो।

रोनाल्डो यसअघि अर्जेन्टिनाका लियोनल मेसीसँगै ६ पटक विश्वकप खेल्ने पहिलो खेलाडीमध्ये एक बनिसकेका थिए। उज्वेकिस्तानविरुद्ध गोल गरेसँगै उनले अर्को ऐतिहासिक कीर्तिमान थपे—लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने।

उनले सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार ६ संस्करणमा गोल गर्ने अद्वितीय उपलब्धि हासिल गरेका छन्। अझ रोचक कुरा त के भने उज्वेकिस्तानविरुद्ध उनको पहिलो गोल खेलको छैटौँ मिनेटमै आएको थियो।

विश्वकपमा पछिल्लो पटक सन् २०२२ मा घानाविरुद्ध गोल गरेपछि गोलको प्रतीक्षामा रहेका रोनाल्डोले उज्वेकिस्तानलाई आफ्नो छैटौँ विश्वकप प्रतिद्वन्द्वी बनाएर त्यो खडेरी अन्त्य गरे। यही खेलमा उनले ६ सट अन टार्गेट पनि प्रहार गरे, जसमा दुई गोलमा परिणत भए।

दुई गोलसँगै रोनाल्डोले विश्वकपमा पोर्चुगलका लागि सर्वाधिक १० गोल गर्ने नयाँ कीर्तिमान पनि बनाए। उनले पोर्चुगलका महान खेलाडी युसेबियोको ९ गोलको रेकर्डलाई पछि पारे।

७ नम्बर जर्सीका कारण विश्वभर चिनिने रोनाल्डोका लागि उज्वेकिस्तानविरुद्धको खेल भने ‘६’ अंकले लेखिएको विशेष अध्याय सावित भयो। विश्व फुटबल इतिहासमा नयाँ कीर्तिमान थप्दै उनले उमेर केवल अंक मात्र भएको सन्देश फेरि एकपटक दिएका छन्।