काठमाडौं – अनलाइन सञ्चार माध्यममा कार्यरत पत्रकार तथा डिजिटल मिडिया व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनलाइन संघ नेपालले शुक्रबार काठमाडौंको अनामनगरमा ‘कृत्रिम बुद्धिमत्ता तथा साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम’ आयोजना गरेको छ।
कार्यक्रमको अध्यक्षता अनलाइन संघ नेपालका अध्यक्ष अमृत कुमार पन्थीले गरेका थिए भने बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती प्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्राध्यापक डा. घमराज लुईटेल, नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीका डीएसपी उमेश प्रसाद साह, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष प्रदीप प्रसाद कोइराला, अनलाइन संघ नेपालका महासचिव तथा बानका अध्यक्ष ई. कुमार भट्टराईलगायत पत्रकारीतामा अध्ययनरत बिद्यार्थी तथा पत्रकाररूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सरस्वती जी.सी.ले गरेकी थिइन्। कार्यक्रमको सुरुवात राष्ट्रिय गानसँगै गरिएको थियो। स्वागत मन्तव्य संघका महासचिव ई. कुमार भट्टराईले व्यक्त गर्दै अनलाइन संघ नेपालको स्थापना, उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए।
उनले अनलाइन संघ नेपालको स्थापना वि.सं. २०७१ साल चैत २० गते डिजिटल मिडिया व्यवसायीहरूलाई एकीकृत गर्ने उद्देश्यका साथ भएको जानकारी दिँदै संस्थाले डिजिटल सञ्चार माध्यमलाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउने, सामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा डिजिटल पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
प्रशिक्षणका क्रममा नेपाल प्रहरी साइबर ब्यूरोका डीएसपी उमेश प्रसाद साहले साइबर सुरक्षा, साइबर अपराधका बढ्दो चुनौती, डिजिटल माध्यमको सुरक्षित प्रयोग तथा जनचेतनाको आवश्यकताबारे प्रशिक्षण दिएका थिए। उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा साइबर अपराधबाट बच्ने उपायबारे जानकारी गराएका थिए।
यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. घमराज लुईटेलले कृत्रिम बुद्धिमत्ताको प्रयोग, यसले सिर्जना गर्ने सामग्री, आविष्कार, कला, संगीत, लेखन तथा सफ्टवेयरसँग सम्बन्धित बौद्धिक सम्पत्ति र नैतिक पक्षबारे प्रशिक्षण दिएका थिए। उनले एआईको जिम्मेवार, नैतिक र सिर्जनात्मक प्रयोगमा जोड दिएका थिए।
कार्यक्रममा न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुसाल तथा प्रमुख अतिथि रेवती प्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्दै डिजिटल पत्रकारितालाई थप जिम्मेवार, विश्वसनीय र सुरक्षित बनाउन यस्ता प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
अन्त्यमा अध्यक्ष अमृत कुमार पन्थीले सहभागी तथा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि डिजिटल पत्रकारहरूको क्षमता विकास, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा तथा जिम्मेवार डिजिटल पत्रकारितासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापनपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
