डा. गोविन्द केसी र सरकारबिच आज धनगढीमा वार्ता हुँदै

by cityhalkhabar
0 views

धनगढी, – धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधिले शनिबार डा। केसीलाई सामान्य भेटे पनि औपचारिक वार्ता भने आज हुनेछ ।

डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार शनिबार सरकारी टोलीले केसीसँग सामान्य भेट मात्रै गरेका थिए । औपचारिक वार्ता (आज) आइतबार हुने उनले बताए । केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा कसरी प्रस्तुत हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने जैसी बत्ताउँछन् ।

‘डा. सावले उठाउनु भएका विषयमा सरकार कसरी प्रस्तुत हुन्छ र कति गम्भीर हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो,’ जेसीले भने, ‘केसी आफ्ना कुराबाट पछि हट्ने अवस्थामा हुनुहुन्न ।’

७ बुँदे माग राख्दै डा. केसी बिहीबार देखि सत्याग्रहमा बसेका छन् । डा। केसीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाएर नयाँ नियुक्ति गर्नुपर्ने पहिलो माग राखेका छन् ।

चिकित्सा शिक्षा आयोग मार्फत् छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार विना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने माग अघि सारेका छन् । चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउन कानुनी ऐनका कानुनी प्रावधानहरू कार्यान्वयन गरिनुपर्ने केसीको तेस्रो माग रहेको छ ।

यस्तै विगतका सरकारसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने, सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुरक्षित गर्नुपर्ने भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी द्धोषिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने लगायतका माग केसीले अघि सारेका छन् ।

उनले विकट क्षेत्रमा रहेका नागरिकको स्वास्थ्य अधिकार कटौती गर्ने प्रयास भएकाले त्यसको खबरदारी आवश्यक रहेको उनको अर्को माग रहेको छ ।