हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

by cityhalkhabar
0 views

बुटवल, २४ साउन — तीन दिनदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्।६५ वर्षीय सिंहको शव कपिलवस्तुको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए।

प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट मोटरसाइकल लिएर निस्किएका थिए। करिब साढे ३ बजे उनले आफू निकटका केही व्यक्तिलाई मोबाइलमार्फत ‘जंगलमा बाटो बिर्सिएको’ जानकारी गराएका थिए।

त्यसपछि आफन्त तथा स्थानीयको टोलीले उनको खोजी सुरु गरेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।

शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट ट्र्याकिङ डगसहितको प्राविधिक टोली ल्याएर समेत जंगल क्षेत्रमा खोजी गरिएको थियो।

तीन दिनदेखि निरन्तर खोजी गर्ने क्रममा आइतबार सिंहको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।