आज रास्वपाले बोलाएको सर्वदलीय बैठककाे निर्णय, अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने

by cityhalkhabar
2 views

काठमाडौं, ३१ भदौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्‌बारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ । बुधबार बसेको सर्वदलीय बैठकले अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउनेगरी छलफल गरेको हो । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ७ दिनभित्र सर्वदलीय संयन्त्र बनाउनेबारे छलफल भएको जानकारी दिए ।

‘अबको ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने कुरा भएको छ । संसदीय समिति छानबिन गर्ने कुरा पनि भएको छ,’ सांसद शाहीले बैठकपछि सञ्चारकर्मीसँग भने ।

उनका अनुसार, ‘सनसेट ल’ लागू गर्ने विषयमा पनि आज छलफल भएको छ। रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए ।

भदौ १० गते विनाशकारी बाढी गएपछि भोलिपल्टै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।

बैठकमा लामिछानेले उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गरेका थिए ।

‘उद्धार, राहतदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस्,’ उनले भनेका थिए ।

लामिछानेको प्रस्तावमा अन्य दलले पनि सहमति जनाए । बैठकले १० बुँदे संकल्प जारी गर्दै दीर्घकालीन समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने विषय समेट्यो ।

संकल्पको १० नम्बर बुँदामा भनिएको थियो, ‘विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति गठन गर्न हामी सहमत भएका छौं।’

उक्त संयन्त्रले संकटको समयमा मात्र नभई विपद्पूर्व तयारी र दिगो विकासका एजेन्डामा राष्ट्रिय सहमति निर्माण गर्दै नीतिगत सुधारमा भूमिका खेल्ने उल्लेख थियो ।

यसअनुसार संयन्त्र बन्न लागेको हो । यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले संयन्त्र गठन गर्ने विषयमा सहमति जनाए पनि गठन गर्न सकेको थिएन ।आज बसेको सर्वदलीय बैठकले सात दिन भित्र गठन गर्ने भनेर समय नै तोकेको हो ।