मधेशमा आज जुडशीतल पर्व मनाइँदै, सार्वजनिक बिदा

by cityhalkhabar
2 views

जनकपुर, २ वैशाख – तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।

वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।

यसैगरी दोस्रो दिन (वैशाख २ गते) बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउने गरिन्छ ।