काठमाडौं, – काठमाडौंको तीनकुनेमा आज बिहान यात्रुवाहक बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी २३ वर्षीया नगिना तामाङको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
तामाङ नुवाकोट स्थायी घर भई हाल ललितपुरको धोबीघाटमा बसोबास गर्दै आएकी थिइन् । प्रहरी वृत्त बानेश्वरका अनुसार, दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय पदम थापा मगर, भ्यान चालक ३५ वर्षीय रत्नबहादुर सार्की, र बसमा सवार २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
घटनास्थलमा बिहान ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट गइरहेका बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बस ५९ वर्षीय रामकुमार खड्काले चलाइरहेका थिए । दुर्घटनापछि बस चालक खड्का, भ्यान चालक सार्की र मोटरसाइकल चालक मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस भने उपत्यका ट्राफिक महाशाखा, रामशाहपथको नियन्त्रणमा रहेको छ ।