काठमाडौं, ९ असार – लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको विनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि र प्रयोगमा ल्याइएको वैकल्पिक मार्गसमेत अवरुद्ध हुँदा पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडकखण्ड सोमबार बिहानदेखि पूर्ण रूपमा ठप्प भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार आइतबार रातिदेखिको अविरल वर्षाले विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलाको डाइभर्सन बगाएको थियो । मुख्य राजमार्ग अवरुद्ध भएलगत्तै, यातायात सुचारु गर्न प्रहरीले होङ्सी गेट-सर्दी हुँदै ज्यामिरे राजमार्ग जोड्ने वैकल्पिक कच्ची बाटोबाट सवारी साधनलाई पठाउने प्रयास गरेको थियो । तर, सोमबार बिहान वैकल्पिक मार्ग पनि अवरुद्ध हुँदा सडकमा सवारी आवागमन ठप्प भएको हो ।
सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र त्यसमा सवार हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् । बिहान वैकल्पिक मार्गमा पर्ने विनयी त्रिवेणी-३ स्थित खरंगे खोलामा पनि बाढीको बहाब ह्वात्तै बढेपछि यातायात पूर्ण रूपमा ठप्प हुन पुगेकाे सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपालले जानकारी दिए । उनका अनुसार खोलाको बहाब गाडी पार गर्न नसक्ने गरी उर्लिएपछि दुवैतर्फका सवारी साधनलाई दुर्घटनाबाट जोगाउन सुरक्षित स्थानमा ‘होल्ड’ गराइएको छ ।
यो सडकखण्ड देशको पूर्वी र पश्चिमी भाग जोड्ने मुख्य सडक भएकाले अवरोधका कारण राजमार्गमा सवारी साधनको लामो ताँती लागेको छ । काठमाडौं, पोखरा लगायतका सहरबाट पश्चिमतर्फ जाँदै गरेका र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका अत्यावश्यक काममा निस्केका सयौं यात्रुहरू, बिरामी र बालबालिकासहित, बीच बाटोमै अलपत्र परेका छन् । पानी पर्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन कठिन रहेको प्रहरीले जनाएको छ ।
सडक खुलाउने प्रयास जारी रहे पनि खोलाको बहाब नघटेसम्म निश्चित समय भन्न नसकिने अवस्था रहेको डिएसपी नेपालले बताए । यस अवरोधले यात्रुहरूलाई गन्तव्यमा पुग्न अनिश्चित बनाएको छ ।