छाउगोठमा सुतेकी २८ वर्षीया युवतीको सर्पले डसेर मृत्यु

by cityhalkhabar
1 views

काठमाडौं, – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सर्पको डसाइबाट एक युवतीको मृत्यु भएको छ । घरभित्रै सुतिरहेको अवस्थामा सर्पले डस्दा कृष्णपुर नगरपालिका-१, निगाली निवासी २८ वर्षीया कमला आउजीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, झलारीका अनुसार कमलालाई शुक्रबार मध्यरात (शनिबार बिहान करिब १२ः३० बजे) आफ्नै घरमा सुतिरहेको बेला विषालु सर्पले डसेको थियो । सर्पले डसेपछि गम्भीर बिरामी परेकी उनलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक राजेश बस्नेतले घटनाबारे जानकारी दिँदै भने, ‘शुक्रबार राति घरभित्रै सर्पले टोकेको जानकारी प्राप्त भएको हो। उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएकोमा शनिबार राति उपचारका क्रममा दुःखद निधन भयो ।’

कमलालाई छाउ गोठमा सुतेका बेला सर्पले डसेको पाइएको कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले जानकारी दिए । नगरपालिकाले छाउ गोठ भत्काउने तथा छाउपडी कुप्रथाविरुद्ध अभियान चलाउने गरिरहे पनि महिनावारी भएका बेला छाउगोठमा सुत्ने परम्पराको अन्त्य भएको छैन ।