काठमाडौं, – चीनको तिब्बतबाट उर्लिएर आएको ल्हेन्दे खोलाको बाढीले रसुवा र नुवाकोटमा पुनः त्रास बढाएको छ । गत असार २५ गतेको विनाशकारी बाढीको घाउ नपुरिँदै मंगलबार रातिदेखि सोही प्रकृतिको बाढीले भोटेकोशी र त्रिशूली नदीको जलस्तर ह्वात्तै बढाएपछि तटीय क्षेत्रमा जनजीवन त्रसित बनेको छ ।
बाढीले नुवाकोट र रसुवाको संगमस्थलमा अवस्थित पवित्र उत्तरगया धाम पूर्ण रूपमा डुबानमा पारेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । धाम क्षेत्र जलमग्न भएपछि स्थानीयमा चिन्ता छाएको छ । बाढीकै कारण गत असार २५ गतेको बाढीले बगाएको नेपाल-चीन मितेरी पुलको स्थानमा चीनले सुरु गरेको पुनर्निर्माण कार्यसमेत रोकिएको छ ।
रसुवा र चीनको तिब्बत क्षेत्रमा मंगलबार भएको अविरल वर्षाका कारण ल्हेन्दे खोलामा बाढी आएको अनुमान गरिएको छ । बाढीले रसुवाको उत्तरगया गाउँपालिका र किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘बी’ हब वरपरको क्षेत्रमा नदीको सतह खतराको तहसम्म पुगेको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन, तर बाढीको बहाव निरन्तर रहेकाले जोखिम उच्च छ । ‘हामीले सम्भावित क्षति रोक्न र आवश्यक परे तत्काल उद्धारमा खटिन सुरक्षाकर्मीको टोली परिचालन गरिसकेका छौं,’ उनले भने, ‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन निरन्तर सूचना जारी गरिएको छ ।’
स्थानीय प्रशासन र गोसाइँकुण्ड गाउँपालिकाले यो बाढी गत असार २५ गतेकै तहको भएको भन्दै सूचना जारी गरेका छन् । स्मरणीय छ, सोही दिन आएको बाढीले रसुवागढी क्षेत्र तहसनहस पारेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, उक्त बाढीमा परी ११ जनाको शव तथा मानव अंग फेला परेको थियो भने चिनियाँ नागरिक र सुरक्षाकर्मीसहित १७ जना अझै बेपत्ता छन् ।
राति उर्लिएको बाढी आज बिहान ३:५५ बजे नुवाकोटको विदुर नगरपालिका आइपुगेको थियो । बाढीका कारण धादिङको गल्छी गाउँपालिकासम्मकै त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । सुरक्षा निकायका तीनवटै अंगलाई उद्धार र सूचना संकलनका लागि परिचालन गरिएको छ । स्थानीय बासिन्दालाई कुनै पनि समस्या परेमा तत्काल स्थानीय जनप्रतिनिधि वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न भनिएको छ ।