काठमाडौं, – आफ्ना विभिन्न मागहरू राखेर आमरण अनशनमा बस्नुभएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र सरकारबीच सहमति भएको छ । लामो समयदेखि बहसमा रहेका गाँजा खेतीको वैधानिकता र कोदोको रक्सीको ब्रान्डिङबाहेक मेयर भट्टराईले उठाएका अन्य सबै मागहरू सम्बोधन गर्न सरकार सहमत भएपछि अनशन तोडिने भएको हो ।
यो सहमतिसँगै स्थानीय तहका अधिकार र विकास निर्माणका सवालमा केन्द्र सरकारको ध्यानाकर्षण गराउन एक नगर प्रमुखले थालेको सत्याग्रहको अन्त्य भएको छ । सहमतिमा हस्ताक्षर गर्न र औपचारिक रूपमा अनशन तोड्नका लागि मेयर भट्टराईले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
उनले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको हातबाट जुस पिएर अनशन तोड्ने कार्यक्रम तय भएको छ । मेयर भट्टराईले आफ्नो नगरपालिकासँग सम्बन्धित विकास निर्माण, नीतिगत सुधार र स्थानीय स्रोतको परिचालन जस्ता महत्त्वपूर्ण विषयहरूमा सरकारको ध्यानाकर्षण गराउँदै अनशन सुरु गरेका थिए । यद्यपि, उनले विशेष जोड दिएका गाँजा खेतीलाई कानुनी मान्यता दिने र स्थानीय कोदोको रक्सीलाई राष्ट्रिय उत्पादनका रूपमा ब्रान्डिङ गर्ने विषयमा भने सरकारले तत्काल सम्बोधन गर्न नसक्ने अडान लिएको छ ।
यस सहमतिले स्थानीय सरकारका जायज मागप्रति केन्द्र सरकार संवेदनशील हुनुपर्ने सन्देश दिएको छ भने मेयर भट्टराईको अनशनले राष्ट्रिय स्तरमै चर्चा पाएको थियो ।