काठमाडौं, – प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी सोनाली राजभण्डारीले चर्चित रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ को चौथो सिजनको उपाधि चुमेकी छन् । शनिबार आयोजित भव्य ग्रान्ड फिनालेमा उनले दर्शकबाट सर्वाधिक भोट प्राप्त गर्दै उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।
कोच मेलिना राईको टिमबाट प्रतिस्पर्धा गरेकी सोनालीले उपाधिसँगै नगद १० लाख रुपैयाँ र अन्य आकर्षक पुरस्कारहरू प्राप्त गरिन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिहरूको उपस्थितिमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।
जितपछि हर्षित हुँदै सोनालीले आफ्नो लामो समयको मिहिनेत र साधना सफल भएको बताइन् । ‘यो उपाधि मेरो मात्र होइन, मलाई भोट गर्नुहुने सम्पूर्ण दर्शक, मेरो परिवार र विशेषगरी कोच मेलिना म्यामको हो,’ उनले भनिन्, ‘सबैको माया र साथले आज यो सफलता मिलेको छ, म एकदमै खुसी छु ।’
आफ्नो टिमकी प्रतिस्पर्धीले उपाधि जितेपछि कोच मेलिना राईले पनि खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘सोनालीको स्वरमा एक किसिमको जादु छ । उनको गायकी र मिहिनेत देखेर म सुरुदेखि नै आशावादी थिएँ । आज उनको जितले मलाई अत्यन्तै गौरवान्वित बनाएको छ ।’
यस पटकको फिनालेमा ८ जना बालप्रतिभाले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गरेका थिए । फिनालेमा कोच खेम सेन्चुरीको टिमबाट दिलिजा रुवाली र आदर्श धिताल, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाईं तथा कोच मिलन नेवारको टिमबाट आयन राई र निश्चल लिम्बु पुगेका थिए । कोच मेलिनाको टिमबाट सोनालीसँगै नोरेन लोय क्षेत्री पनि फाइनलिस्ट थिए ।