कुवेतमा ‘विषालु’ मदिराको कहर: ११ नेपालीको मृत्यु, ४० गम्भीर बिरामी

by cityhalkhabar
1 views

काठमाडौं, रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेका नेपाली श्रमिकहरूमाथि अकल्पनीय पीडा आइलागेको छ । त्यहाँ अवैध रूपमा उत्पादित विषाक्त मदिरा सेवन गर्दा पछिल्लो चार दिनमा ११ जना नेपाली श्रमिकको ज्यान गएको छ भने अन्य ४० जना गम्भीर बिरामी परेका छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार साल्मिया क्षेत्रमा भएको घटनामा नेपाली र भारतीयलगायत एसियाली मुलुकका श्रमिकहरू पीडित बनेका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले घटनामा कुल २३ विदेशी श्रमिकको मृत्यु भएको पुष्टि गरेको छ ।

कुवेती स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सेवन गरिएको मदिरामा ‘मेथानोल’ नामक घातक औद्योगिक रसायन मिसाइएको पाइएको छ । यो विषालु मदिराका कारण १ सय ६० भन्दा बढी श्रमिक बिरामी परेका छन् । बिरामीमध्ये ३१ जनाको अवस्था अत्यन्तै गम्भीर रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको छ भने ५१ जनाको आपत्कालीन मृगौला डायलासिस भइरहेको छ । कतिपयले सदाका लागि आँखाको ज्योति गुमाएका छन् ।

कुवेतमा मदिराको उत्पादन, बिक्री-वितरण र सेवनमाथि कडा कानुनी प्रतिबन्ध छ । यही कारणले त्यहाँ लुकीछिपी अवैध र गुणस्तरहीन मदिरा उत्पादन र बिक्री हुने गरेको छ । यस्तै अवैध मदिरा सेवन गर्दा यो दुर्घटना भएको हो । 

घटनापछि कुवेतस्थित नेपाली दूतावासले पीडित नेपालीहरूको पहिचान र उपचारमा समन्वय गरिरहेको जनाएको छ । दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार, नेपाली समुदाय र कुवेती सरकारसँग निरन्तर सम्पर्कमा रहेर आवश्यक सहयोग प्रदान गरिएको छ । यता, परराष्ट्र मन्त्रालयले पनि दूतावासलाई पीडित परिवारसँग समन्वय गर्न र उद्धारमा सक्रिय रहन निर्देशन दिएको छ ।