बुढानिलकण्ठमा मध्यरात स्कुटर र बाइक ठोक्किँदा दुई युवकको मृत्यु, दुईको अवस्था गम्भीर

by cityhalkhabar
2 views

काठमाडौँ, – काठमाडौँको बुढानिलकण्ठमा गएराति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दुर्घटनामा सिराहाका २९ वर्षीय भोला थापा र सनाखत हुन नसकेका अन्दाजी ३५ वर्षीय अर्का एक युवकको मृत्यु भएको हो । उनीहरूको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोराले जानकारी दिए ।

एसपी बोहोराका अनुसार, गएराति करिब पौने २ बजे बुढानीलकण्ठ नगरपालिका-७, स्पेसलचोकमा गोल्फुटारबाट नारायणस्थानतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बुढानिलकण्ठ बस्ने २४ वर्षीय एरिक परियार तथा नाम, थर र वतन नखुलेका अन्दाजी २८ र ३० वर्षीय दुई युवक घाइते भएका छन् । घाइतेमध्ये सनाखत हुन नसकेका दुई युवकको अवस्था गम्भीर छ ।

प्रहरीले मृतक एक युवक तथा गम्भीर घाइते दुई युवकको पहिचानका लागि आफन्तको खोजी गरिरहेको छ । प्रहरीका अनुसार, गम्भीर घाइतेमध्ये एक युवकले कालो ट्याक र निलो टिसर्ट तथा अर्काले खैरो बक्स पाइन्ट र सेतो ट्याक लगाएका छन् । मङ्गोलियन अनुहार भएका करिब ३० वर्षीय युवकका कोही पनि आफन्त हालसम्म सम्पर्कमा नआएकाले पहिचानमा सहयोग गरिदिन प्रहरीले सर्वसाधारणलाई अपील गरेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।