कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

by cityhalkhabar
27 views

काठमाडौं, ४ भदौं- कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभामा बोल्दै पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको छ । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारणसभामा उहाँले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार छ भन्नुभयो ।

सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा अशुल नगर्न मन्त्री पाण्डेले आग्रह गर्नुभयो । राम्रो व्यवहार गर्ने र भौतिक व्यवस्थापनतर्फसँगसँगै लैजान मन्त्री पाण्डेले व्यवसायीलाई आग्रह गर्नुभयोे । कलंकी एरियाका होटल तथा गेष्टहाउस लोकप्रिय हुनुको कारण त्यहाँ गरिने राम्रो व्यवहार हो पनि भन्नुभयो ।
उक्त कार्यक्रम संचालन कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनका महासचिव राजु घिमिरेले गर्नुभएको थियो । महासचिवले सांगठानिक प्रतिवेदन तथा आगामी योजनाको बारेमा प्रस्टाउनुभएको थियो । उक्त कार्यक्रममा एस.ई.ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्नुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
सोही कार्यक्रममा बोल्दै जिल्ला होटल संघका अध्यक्ष सुरेश बरालले प्रहरीले व्यवसायीमाथि गरेको व्यवहारलाई सच्याउन माग गर्नुभएको छ । बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्य खाती क्षेत्रीले होटलमा अनलाईन माध्यमबाट बुक गरिएका कारण स्वदेशी तथा विदेशी पाहुनाहरु आउँदा राती केही ढिला हुँदा प्रहरीले सिठी फुकी बन्द गर्ने कामबाट व्यवसायीहरुलाई दुःखदिने काम गरेको र यस्तो काम नगर्नुहुन अनुरोध समेत गर्नुभयो ।
संस्थाका अध्यक्ष रमेश बरालले सभा विर्सजन गर्दै नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा तीज मिलन कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्नुका साथै संस्थाले आगामी दिनमा होटेल व्यवसायीका हक हितका लागि संस्था लडिरहने र कलंकी क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको बताउनुभयो ।