जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३४७ जना घाइते

by cityhalkhabar
2 views

काठमाडौं, २३ भदौ – देशभर भइरहेका जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार विभिन्न अस्पतालबाट प्राप्त जानकारीका आधारमा मृतकको संख्या अद्यावधिक गरिएको हो ।

यसैगरी, प्रदर्शनमा घाइते भएका ३ सय ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार, काठमाडौंका प्रमुख अस्पतालहरूमा पनि मृत्युका घटनाहरू रेकर्ड भएका छन् ।

सिभिल अस्पतालमा ३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना र केएमसी अस्पतालमा २ जनाले ज्यान गुमाएका छन् । यसैगरी, त्रिवि शिक्षण अस्पतालमा १ जना र धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

जेनजीहरूको यो प्रदर्शन किन भइरहेको छ र यसको माग के हो भन्नेबारे थप विवरणहरू आउन बाँकी छ, तर यसले देशभर ठूलो मानवीय क्षति पुर्‍याएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडपले हिंसात्मक रूप लिएको बुझिएको छ ।