गृहमन्त्री लेखकले नैतिकताका आधारमा दिए राजीनामा

by cityhalkhabar
2 views

काठमाडौं, २३ भदौ – गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । आज जेन–जीको आन्दोलनमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरी १९ जनाको ज्यान लिएसँगै गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि उनले नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आफूले राजीनामा दिने बताएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको बैठकपछि बालुवाटार आएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

सोमबार राजधानीमा १७ र इटहरीमा २ जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री लेखकले ‘नैतिकताका आधारमा’ राजीनामा दिएका हुन् । यस घटनाले देशभरि ठूलो जनआक्रोश सिर्जना गरेको थियो ।

२०८१ साल असार ३१ मा गृहमन्त्री बनेका लेखकको करिब चार महिनाको कार्यकाल यस अप्रिय घटनासँगै टुंगिएको छ । यस राजीनामाले सरकारमाथि थप दबाब सिर्जना गर्ने र आगामी दिनमा गृह प्रशासनको नेतृत्वमा नयाँ अनुहार आउने निश्चित भएको छ ।

नेपालको अहिलेसम्मको राजनीतिक इतिहासमा एकैदिन १९ जनाको ज्यान गएको यो पहिलो घटना हो । थुप्रै गम्भीर घाइते भएका छन् । जसका कारण मृतकको संख्यासमेत बढ्न सक्ने जनाइएको छ ।