काठमाडौं, २३ आश्विन – ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट हुन पुग्यो । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रनको योगदान दिए ।
नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई सस्तैमा समेटे । ललित राजवंशीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले २२ रन दिएर २ विकेट हात पारे । कप्तान रोहित पौडेलले केवल २ ओभर बलिङ गर्दै ७ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले पनि समान १-१ विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । ओपनर भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रनको महत्त्वपूर्ण इनिङ खेले ।
मध्यक्रममा दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । यद्यपि, गुल्शन झाले अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै मात्र ६ बलमा २० रन जोडे । उनले १९औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै नेपाली टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए ।
कुवेतका लागि अनुदीप चेन्थामारा र नवीन राजले २-२ विकेट लिए भने मोहम्मद असलम र अकिफ फारुकले १-१ विकेट लिए । यो जितपछि नेपालको मनोबल उच्च भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।