काठमाडौं, २ कात्तिक — सम्पत्ति शुद्धीकरण विभागले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको परिवारका सदस्यविरुद्ध सम्पत्ति छानबिन औपचारिक रूपमा प्रारम्भ गरेपछि माओवादी नेतृत्व आक्रामक बनेको छ। अनुसन्धान रोक्न सरकार पक्षमा सन्देश पठाइएको खुलेको छ।
प्रचण्डले हालै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वउर्जा मन्त्री वर्षमान पुन (अनन्त) लाई प्रधानमन्त्री पुष्पकल कार्कीलाई भेट्न पठाई अनुसन्धान नरोके राजनीतिक प्रतिक्रिया आउने संकेत दिएको उच्च स्रोतले जनाएको छ। भेटमा माओवादी नेताहरूले, “हामी कांग्रेस–एमालेभन्दा फरक शक्ती हौं, चुनावमा जान तयार छौं, तर हामीलाई जबरजस्ती त्यही शक्तिहरूतिर धकेल्ने प्रयास भयो भने सह्य हुँदैन,” भन्ने आशय व्यक्त गरेको स्रोतले दाबी गरेको छ।
यसबीच, शुक्रबार प्रधानमन्त्रीसँग भेटमा सहभागी भएका वर्षमान पुनले शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा खुलेर आलोचना गरे। उनले भने, “२३ गते दर्जनौं नानीहरूको हत्या गर्नेहरूलाई केही नगर्ने, सत्तामा बसेर लुट गर्ने विचौलियालाई नछुने, तर प्रचण्ड कमरेडतिर आएर तर्साउने ? यस्तो बेठिक प्रवृत्ति हामी स्वीकार्दैनौं।”
उनीहरूले माओवादी ‘शान्ति, लोकतन्त्र र प्रगतिशील राजनीतिक शक्ती’ भएको उल्लेख गर्दै, पार्टीलाई हेप्ने र बदनाम गर्ने प्रयास तुरुन्त रोक्न आग्रह गरे।
यसअघि जेनजी आन्दोलनको मुख्य मागमध्ये एक शीर्ष नेताहरू — प्रचण्ड, ओली र देउवा — को सम्पत्तिको छानबिन गरी पारदर्शिता कायम गर्नुपर्ने थियो। सोही मागअनुसार सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको फाइल अघि बढाएको हो।
प्रचण्ड परिवारविरुद्ध विलासी जीवनशैली, परिवारको नाममा थुप्रिएको सम्पत्ति तथा राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोप लामो समयदेखि उठ्दै आएको छ। विशेषगरी प्रचण्डकी छोरी गंगा दाहाल ‘नेपो बेबी’ अभियानका मुख्य लक्ष्य मध्ये एक थिइन्, जसले रोलेक्स घडी र गुची ब्रान्डका झोला प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ। उनका पति जीवन आचार्यमाथि समेत अस्वाभाविक रूपमा सम्पत्ति बढाएको प्रश्न उठ्दै आएको छ।
अनुसन्धान सुरु भएपछि माओवादी एकातिर सत्तासँग दूरी बढाउने संकेत दिँदैछ भने अर्कोतर्फ यसलाई चुनाव–पूर्वको ‘राजनीतिक दवाव र डर देखाउने शैली’ भनेर चित्रण गर्दै जनस्तरमा समर्थन बटुल्न खोजिरहेको देखिन्छ। सरकार र सम्पत्ति शुद्धीकरण विभागले भने यसबारे आधिकारिक टिप्पणी सार्वजनिक गरेका छैनन्।