एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स

by cityhalkhabar
2 views

काठमाडौं, १६ कात्तिक – नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो।

कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए । उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। साथै भक्तपुरबाहेक ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा घोषणा गर्नेछौं।’

उनका अनुसार यो युथ फोर्स घोषणा गर्नमा मधेश, पहाड र हिमालका संगठनका साथीहरूले साथ दिएका छन् । नेता महेश बस्नेतका अनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवाहरु त्यस क्षेत्रमा खटिएका छन् ।  ‘२ महिनामा २ हजार युवा खटे । गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन’ उनले भने ।

पुष्प श्रेष्ठ, अमित पौडेललगायतले  अहिलेसम्म  समन्वय गरेको उनले जानकारी दिए । युवा संघ, भूपू सैनिक संगठन, एमाले भक्तपुर लगायतले नेताहरुको सुरक्षामा काम गरिरहेको उनले जानकारी दिए ।

उनले विगतमा युथ फोर्स निर्माण गरेर माओवादीको आतंक हटाएको उल्लेख गर्दै नेता बस्नेतले अहिले पनि  सबै खालका अराजकता विरुद्ध  युथ भोलेन्टियर्स  फोर्सले काम गर्ने जानकारी दिए ।