मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार

by cityhalkhabar
2 views

काठमाडौं, २० कार्तिक – मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउम हालै एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारको शिकार भएकी छन् । राजधानी मेक्सिको सिटीमा नागरिकहरूसँगको अन्तरक्रियाका क्रममा उनीमाथि एक पुरुषले गरेको दुर्व्यवहारको भिडिओ अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार यो घटना राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भएको हो । भिडिओमा स्पष्ट देख्न सकिन्छ, राष्ट्रपति शेइनबाउम नागरिकहरूसँग कुरा गरिरहेका बेला एक पुरुष उनको नजिक पुग्छन् । ती पुरुषले राष्ट्रपतिको काँधमा हात राखेर उनको घाँटीमा चुम्बन गर्छन् । राष्ट्रपति शेइनबाउमले तत्काल प्रतिक्रिया दिँदै ती पुरुषको हात हटाउँछिन् । उनले शान्तपूर्वक र हल्का हाँसेर नै स्थितिलाई सामान्य बनाउने प्रयास गर्छिन् । त्यसलगत्तै सरकारी अधिकारीहरू आएर ती पुरुषलाई राष्ट्रपतिको छेउबाट हटाएका थिए । तर, ती पुरुषले पुनः राष्ट्रपतिको नजिक गएर कुरा गर्ने प्रयत्न गरेको देखिन्छ ।

आश्चर्यजनक रूपमा, घटना भइरहँदा राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू त्यहाँ उपस्थित थिएनन् । केही समयपछि आएका सुरक्षाकर्मीले ती पुरुषलाई पक्राउ गरेका थिए । अनुसन्धानबाट ती पुरुष मदिराले लठ्ठ भएको खुलेको छ ।

घटनापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति शेइनबाउमले उक्त व्यक्तिविरुद्ध जाहेरी दिने बताएकी छन् । उनले भनिन्, ‘यो घटना मैले एक महिलाको रूपमा भोगेकी हुँ, तर यो कुरा हाम्रो देशका सबै महिलाले भोगिरहेका छन् । यदि म आफैंले उजुरी नगर्ने हो भने अरू महिलाको न्यायको अवस्थाबारे के सन्देश जान्छ ?’