काठमाडौं, २ मंसिर – आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा सञ्चालनमा आएको आइएमई खल्ती लिमिटेडले प्रविण रेग्मीलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त गरेको छ । शुक्रबार बसेको कम्पनीको ११औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्ति तत्कालका लागि लागू हुने कम्पनीले जनाएको छ।
रेग्मी यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडका सिइओको जिम्मेवारीमा कार्यरत थिए भने मर्जरपछि आइएमई खल्ती लिमिटेडमा सञ्चालक समिति सदस्यका रूपमा रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय रहे। डेढ दशकभन्दा बढी फिनटेक, बैंकिङ र डिजिटल ट्रान्सफर्मेसन क्षेत्रको अनुभव बोकेका रेग्मीले नेपालको डिजिटल भुक्तानी संरचना विस्तार र विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।
डिजिटल अर्थतन्त्र र क्यासलेस कारोबारतर्फ नेपाल उन्मुख भइरहेका बेला रेग्मीको नेतृत्वले कम्पनीलाई थप प्रतिस्पर्धी र प्रविधि–मैत्री बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पूर्व सिइओ विनय खड्काले भने आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी पदबाट जिम्मेवारी हस्तान्तरण गरेका छन्।
रेग्मी PSP संघ नेपालका संस्थापक अध्यक्ष समेत हुन्। संस्थागत सहकार्य, नीतिगत संशोधन, नियमनकारी सुधार र डिजिटल भुक्तानी प्रवर्द्धनमा उनको नेतृत्व महत्वपूर्ण मानिन्छ। खल्ती र आइएमई डिजिटलको एकीकरणपछि कम्पनीले डिजिटल सेवा विस्तार, नयाँ फिनटेक समाधान र ग्राहकमैत्री सुविधा थप गर्दै पेमेंट इकोसिस्टम विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ।
प्रविण रेग्मीको अनुभव, रणनीतिक दृष्टि र नवीन प्रविधि आत्मसात गर्ने क्षमताले आइएमई खल्ती लिमिटेडलाई आगामी वर्षहरूमा डिजिटल ट्रान्सफर्मेसनको अग्रस्थानमा स्थापित गर्ने कम्पनीको विश्वास छ।
