नयाँ दिल्ली, ३० पुस – – भारतको हिमाचल प्रदेश अन्तर्गत सोलान जिल्लाको अर्की उपमण्डलस्थित पुरानो बस स्ट्यान्ड क्षेत्रमा मिति १२ जनवरी २०२६ को राति भएको भयावह आगलागी तथा ग्यास सिलिन्डर विस्फोटको घटनाले सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।
प्राप्त जानकारीअनुसार रातिको समयमा एक पसलमा अचानक आगलागी भई त्यहाँ रहेका ग्यास सिलिन्डरहरू विस्फोट हुँदा सल्यान जिल्ला, सिद्धकुमाख गाउँपालिका–२, टाकुरा निवासी दुई परिवारका ९ जना नेपाली नागरिक तथा १ जना भारतीय नागरिक गरी जम्मा १० जनाको दुःखद निधन भएको छ। विस्फोट अत्यन्तै शक्तिशाली भएकाले शव संकलन कार्यमा कठिनाइ भइरहेको छ।
घटनास्थलमा हिमाचल प्रदेश, सोलान जिल्लाका सुरक्षाकर्मीहरूको टोली तथा नेपाली समाज भारत – हिमाचल प्रदेश राज्य समिति उद्धार तथा शव संकलन कार्यमा सक्रिय रूपमा संलग्न रहेका छन्। यस अकल्पनीय र हृदयविदारक घटनाप्रति नेपाली समाज भारत, केन्द्रीय समिति ले गहिरो दुःख तथा शोक व्यक्त गरेको छ। साथै, दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
उक्त दुःखद घटनापछि मृतक परिवारलाई यथोचित क्षतिपूर्ति, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा भारत सरकार, हिमाचल प्रदेश सरकार, नेपाली दूतावास तथा सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय भइरहेको जानकारी गराइएको छ।
नेपाली समाज भारत, केन्द्रीय समिति यस दुःखद घडीमा पीडित परिवारहरूसँग ऐक्यबद्धता प्रकट गर्दै मानवीय सहयोगका सबै प्रयासमा निरन्तर संलग्न रहने प्रतिबद्धता व्यक्त गरेको छ।
