काठमाडौँ, २ माघ – नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा सस्थापक समूहले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको प्रमाण निर्वाचन आयोगमा बुझाएको छ ।

शुक्रबार बिहान निर्वाचन आयोगमा दलबलसहित पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी महामन्त्री थापाकै नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । त्यो विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै सस्थापक समूह शुक्रबार निर्वाचन आयोग पुगेको थियो ।
विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधार भन्दै हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिए ।
