देउवा समूह सर्वोच्चमा, निर्वाचन आयोगको निर्णय बदर माग

by cityhalkhabar
1 views

काठमाडौँ, ४ माघ – नेपाली कांग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधिलगायतका नेताहरु आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग्दै सर्वोच्च गएका हुन् । गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन अवैध घोषणा गर्न अदालतसँग माग गरिएको छ ।

यसअघि पार्टीको विधानअुनसार गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा विशेष महाधिवेशन गरेर उक्त महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।  निर्वाचन आयोगले कानूनअनुसार विशेष महाविधेशन भएको भन्दै थापा नेतृत्वलाई मान्यता दिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुप्रसाद कोइरालाका अनुसार रिट निवेदन दर्ताको क्रममा रहेको बताए । उनले आजै रिट दर्ता हुने र कानूनी प्रक्रियाअनुसार पेसी चढ्ने र सुनुवाइ हुने प्रक्रिया अगाडि बढ्ने बताए ।

सोमबार राष्ट्रिय बिदा रहेकाले मंगलबारमात्र पेसी चढ्ने छ । तर प्रतिनिधि सभाको उम्मेदवारीका लागि सोमबार उम्मेदवारको नाम बुझाउनु पर्ने भएकाले देउवा पक्ष अप्ठेरोमा परेको छ । आधिकारिक रूपमा निर्वाचन आयोगले गगन थापा सभापति रहेको कांग्रेसलाई रूख चिन्हमा अद्यावधिक गरिसकेको छ ।