दुर्गा प्रसाईं भक्तपुरको उनकै निवासबाटै पक्राउ

by cityhalkhabar
2 views

काठमाडौं, १७ फागुन, – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो । पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।

प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव बिथोल्ने अभिव्यक्ति दिँदै आएका छन् । उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए । राजावादी अभियन्ता प्रसाईँसँग सरकारले पटक पटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन् ।