बानमा चरम विवाद

by cityhalkhabar
5 views

निजी रेडियोहरूको छाता सङ्गठन ‘ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल’ (बान) मा चरम विवाद उत्पन्न भएको छ । बानका केही पदाधिकारीले संस्थामा व्यापक आर्थिक अनियमितता गरेको विषयमा संस्थापन पक्षले हिसाब किताब माग गरेपछि सुरु भएको विवाद अहिले प्रहरीसम्म पुगेको छ ।
संस्थापन पक्षका अनुसार महासचिव नवीन राईले ९ लाख ५५ हजार ७ सय ७६ रुपैयाँ संस्थाको खाताबाट व्यक्तिगत चेक काटी लगेको र हिसाब माग गर्दा कार्यालयसमेत बन्द गराइ बिल भौचरसमेत पेस नगरेपछि विवाद सुरु भएको हो ।
महासचिवसहित अरू पदाधिकारीले पनि आर्थिक अनियमितता गरेको विषयमा एसोसिएसनको तेस्रो केन्द्रीय कार्यसमितिको बैठकमा हात हालाहाल समेत भएको बैठकमा उपस्थित एक केन्द्रीय सदस्यले जानकारी दिए ।
महासचिव राई माथि यसअघि नै मानव तस्करीसमेतको आरोप लागेको थियो भने त्यस विषयमा सिआइबीमा उजुरी रहेको बुझिएको छ ।

आर्थिक अनियमितता, साइबर क्राइम सहितको विभिन्न आरोप भोगिरहेका केही पदाधिकारीले भने यस विषयमा बोल्न चाहेनन् ।
आरोपितहरूले अहिले अनधिकृत रूपमा संस्थाको लेटर प्याड दुरुपयोग गरी संस्थापन पक्षलाई फाल्ने गरी महाधिवेशन आह्वान गरेको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय कास्कीमासमेत विभिन्न उजुरी रहेका छन् ।
यता संस्थापन पक्षले भने वैशाख २४–२५ मा महाधिवेशन गर्ने मिति तोकिसकेको अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । उनले भने ‘संस्थाका विभिन्न कुराहरू आफूले थाहा पाएको तर यी सबै विषयमा सम्बन्धित निकायमा जवाफ दिने छु ।’