काठमाडौँ, २९ असार – रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच चार घण्टाभन्दा बढी समय छलफल भएको छ बूढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, सुकुम्बासी समस्या समाधान तथा पार्टीका बाँकी पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनका विषयमा छलफल भएको स्रोतले जनाएको छ।
रास्वपा उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनसँग सभापति लामिछानेले पाँचवटा चासो राखे ।
एकःसुकुमवासी समस्या समयसीमामा सहज बन्नुपर्नेमा किन थप गिजोलियो ? अब सरकारसँग के योजना छ ?
दुईः अर्थमन्त्री स्वर्णिम वाग्लेसँग के विषयमा कुरा नमिलेको हो प्रधानमन्त्रीको ? पार्टी नेतृत्वसँग वाग्लेले असन्तुष्टि राखिरहेका छन्, जसबारे मैले नै प्रधानमन्त्रीसँगै कुरा गर्न भनेको छु ।
तीन: महामन्त्रीमा भूपदेव शाहलाई सिफारिस गर्न अहिले किन समस्या परेको हो ? किन उनीसहित अरूको नाम बालेन निकटबाट आउन सकिरहेको छैन ?
चार: आम आक्रोश सामाजिक सञ्जालबाट सडकतर्फ लतारिँदैछ । यसलाई कसरी सम्बोधन र व्यवस्थापन गर्ने सोच्नुभएको छ ?
पाँच: दलाई लामासँग जोडेर अनावश्यक प्रचारबाजी भयो । यसलाई कसरी हल गर्ने ?
बालेनले रविलाई आश्वस्त पार्न खोज्दै मूख्यतः तीनवटा सरोकार राखेका थिए ।
बालेनको पहिलो सरोकार : विगतमा सभापति लामिछाने निकट भनेर चिनिएका सांसद तथा नेताहरूले सरकारका क्रियाकलापविरुद्ध नियोजित ढंगले बोल्न, लेख्न थाले ।
केही सांसदहरूको नामै लिएर बालेनले उनीहरूमाथि अनुशासनको कारबाही गरिनुपर्ने मागसमेत रविसँग राखेका छन् ।
रविले कुनै योजनाबेगर त्यस्ता अभिव्यक्ति आएको भन्दै थुमथुम्याउन खोजे । उनले कतिपय विषयलाई सामान्य मान्न आग्रह गरे । गम्भीर खालका टिप्प्णी उपर भने कारबाही चलाउन समस्या नहुने रविको भनाइ थियो ।
बालेनको दोस्रो सरोकार : संसद्मा म नियमित नगए पनि सरकार त्यहीँ हुन्छ, प्रधानमन्त्रीलाई खोज्न सरकार पक्षकै सांसद लाग्नुभएन ।
प्रधानममन्त्री बालेनले सरकारका मन्त्रीहरूले दिएका अभिव्यक्तिमा आफू नै भेटिने भएकाले प्रधानमन्त्री खै भन्दै रास्वपाकै सांसद अघि सर्न नहुने गुनासो गरेका थिए ।
बालेनको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘उहाँले आफ्नो कार्यशैली अनुसार संसद चल्न नसक्ने, संसद् अनुसार आफू हरेक दिन चल्न नसक्ने भन्दै एउटा चलाख मध्यमार्ग खोज्न सभापतिज्युलाई आग्रह गर्नुभयो ।’
सभापतिले यसबारे कुनै जवाफ नदिएको बताइएको छ । बालेनको तेस्रो सरोकार : सुशासनका कदम उठाउन खोज्दा अवरोध भयो, चिर्न सघाउनुपर्यो ।
प्रधानमन्त्रीले बाहिर जे आलोचना भए पनि आफू सुशासनको प्राथमिकताबाट दायाँबायाँ नहुने बताएका छन् । उनले विगतमा विवादित पात्रहरूले नै लोकतन्त्रको कुरा गर्दै सरकारलाई अप्ठेरोमा पार्न खोजेको, तर कानुनबमोजिम सरकारले अघि बढ्ने भन्दै पार्टीमा उत्पन्न अन्योल समाधान गर्न, तथा अरू पार्टीहरूसँग आवश्यक परे छलफल गर्न सभापति लामिछानेलाई आग्रह गरेका छन् ।
स्रोतले भन्यो, ‘त्यहाँ सबै राजनीतिक कुरामात्रै भयो भन्ने नबुझ्नुस् । उहाँहरू दुवैजना कला, संगीतको मान्छे । त्यहाँ धेरै कुरा हुन्छ । आज बिदा पनि हो । बिदामा हुने गफगाफ हाँसिठट्टा पनि हुन्छ । इस्युलाई चाहिनेभन्दा धेरै सिरियस बनाएर दिन बर्बाद गर्नु पनि हुँदैन ।’
बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए ।
