काठमाडौँ, ७ भदौ – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाहरू प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ (संस्थगत स्मृति) मा सुरक्षित रहने भएकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कानूनको दायरामा ल्याइने बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा उनले दशकौँ बितिसकेका घटनामा समेत संलग्नलाई पक्राउ गरी कारबाही गर्दै आएको स्पष्ट पारे।
व्यक्तिगत स्मरण छोटो समयमा मेटिने भए पनि प्रहरी सङ्गठन व्यक्तिको न्यायका लागि अनवरत लडिरहने संस्था भएकाले पुराना घटनाहरू नबिर्सने उनको भनाइ थियो। यद्यपि, केही पुराना मुद्दामा चाहेजस्तो सफलता तत्काल हासिल हुन नसकेको स्वीकार गर्दै उनले केन्द्रीय अनुसन्धान ब्युरोमार्फत विशेष टोली गठन गरी पुराना जघन्य अपराधहरूको अनुसन्धान निरन्तर भइरहेको र केहीमा राम्रो सफलतासमेत मिलिरहेको जानकारी दिए।
बदलिँदो समय, प्रविधि र कार्यशैलीले सुरक्षा चुनौती थपिइरहेको विश्लेषण गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धति मात्रै पर्याप्त नहुने बताए। प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न कार्यसम्पादन सूचक तयार पारिएको तथा सेवालाई प्रविधिमैत्री बनाइएको उनले उल्लेख गरे।
नागरिकले प्रहरी कार्यालयसम्म धाइरहनु नपर्ने गरी ‘नेपाल पुलिस एप’ मार्फत घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्था बुझ्न सकिने व्यवस्था गरिएको छ। पछिल्लो समय प्रविधिजन्य र आर्थिक अपराधहरू बढ्दै गएकाले सोहीअनुसार विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरी जनशक्ति परिचालन गरिएको उनले प्रष्ट पारे।
अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न नेपाल प्रहरीले इन्टरपोल तथा विभिन्न देशका विशिष्टीकृत अनुसन्धान इकाइहरूसँग समन्वय गरी आधुनिक ‘पुलिसिङ’ का मापदण्डहरू अवलम्बन गरिरहेको महानिरीक्षक कार्कीले बताए।
समाजमा शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको रक्षाका लागि प्रहरी सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आपराधिक प्रवृत्ति भएका व्यक्तिहरूको बारेमा सूचना दिएर सहयोग गर्न आमनागरिकलाई आग्रहसमेत गरे।
