काठमाडौं, २ असोज – काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य फेरि पुरानै दरमा कायम भएको छ। वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने अवस्था हटेपछि नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिन्डर थपिएको १०५ रुपैयाँ ३८ पैसा ढुवानी शुल्क हटाएर २,०६० रुपैयाँमै ग्यास बिक्री गर्न उद्योगीहरूलाई निर्देशन दिएको हो।
गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्गमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको थियो। त्यसपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूले विभिन्न जिल्लाका प्लान्टबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौं ल्याउँदै आएका थिए।
लामो तथा वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि संघले भदौ १८ गते नेपाल आयल निगमले तोकेको २,०६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा थप गरी प्रतिसिलिन्डर अधिकतम २,१६५ रुपैयाँ ३८ पैसा मा ग्यास बिक्री गर्न आग्रह गरेको थियो।
तर अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्रयाक खुलेर यातायात सञ्चालनमा आएपछि ग्यास बुलेटहरू सिधै काठमाडौं आउन थालेका छन्। त्यससँगै अतिरिक्त ढुवानी खर्च हटाइएको संघले जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिअनुसार असोज २ गतेदेखि काठमाडौं उपत्यकामा प्रतिसिलिन्डर ग्यास २,०६० रुपैयाँभन्दा बढीमा बिक्री नगर्न उद्योगीहरूलाई आग्रह गरिएको छ।
संघले सोही मूल्य कायम गर्न आफ्ना विक्रेताहरूलाई समेत जानकारी गराउन ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ।
