काठमाडौं – प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित Euromoney Award for Excellence 2025 अन्तर्गत “Nepal’s Best Digital Bank for SMEs” को उपाधि हात पारेको छ ।
सिङ्गापुरमा आयोजित भव्य समारोहमा Euromoney Limited द्वारा प्रदान गरिएको उक्त अवार्ड प्रभु बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित तीनजना महिला अधिकृतहरूले संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
यसअघि Bank of the Year 2023 समेत जितिसकेको प्रभु बैंकले साना तथा मझौला उद्यम (SMEs) लक्षित डिजिटल सेवा प्रवाहमा खेलेको अग्रणी भूमिकाका लागि यो सम्मान पाएको हो ।
बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व भुक्तानी, बीमा तथा वित्तीय परामर्श जस्ता अत्याधुनिक डिजिटल सेवामार्फत देशभरिका साना व्यवसायहरूलाई सेवा दिँदै आएको छ ।
बैंकका अनुसार यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्न सहयोग गर्दै व्यवसाय वृद्धिमा टेवा पुर्याइरहेका छन् । प्रभु बैंकले ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकासमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ ।
अवार्ड प्राप्तिपछि बैंकका प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि संस्थागत मात्र नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको प्रतिक्रिया दिएका छन् । साथै, डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायलाई सशक्त बनाउने अभियानमा अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धता समेत जनाएका छन् ।
हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २५६ एटीएम तथा एकीकृत डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा विस्तार गरिरहेको छ । बैंकले डिजिटल नेपाल अभियानलाई आत्मसात गर्दै आगामी दिनमा SMEs लक्षित थप नवीन र दीगो डिजिटल सेवा ल्याउने तयारी गरिरहेको बताइएको छ ।