संघीय संसद्का दुवै सदनको बैठक आज, विनियोजन विधेयकका सिद्धान्तमाथि छलफल हुने

by cityhalkhabar
0 views

काठमाडौं, – सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछन् । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफल सुरु हुने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्ने कार्यक्रम छ । संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनमा समान कार्यसूचीअनुसार छलफल प्रारम्भ हुनेछ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । सोही दिन संसदबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।

अब, संसद्मा प्रस्तुत विनियोजन विधेयकका आधारभूत सिद्धान्त तथा प्राथमिकतामाथि विस्तृत बहस सुरु हुने तयारी छ । आगामी बजेट निर्माणको आधार तय गर्ने यो बहस अर्थपूर्ण मानिन्छ । संसद्मा हुने छलफलले सरकारको आगामी नीति तथा बजेटको दिशा निर्धारण गर्न महत्त्वपूर्ण योगदान दिनेछ ।

सरकारले आगामी आर्थिक वर्षमा खर्चको क्षेत्र, प्राथमिकता प्राप्त योजनाहरू, समावेशी विकास, पूर्वाधार विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई केन्द्रमा राखेर बजेट तयार पार्ने संकेत यसअघि नै दिएको छ । संसद्मा हुने छलफलपछि विधेयकको प्रारूपलाई अझ स्पष्ट र व्यवस्थित बनाइने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।