अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर, हड्डीसम्म फैलिएको पुष्टि

by cityhalkhabar
3 views

काठमाडौं, ५ जेठ – अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ । बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उनलाई प्रोस्टेट क्यान्सर भएको र क्यान्सर हड्डीसम्म फैलिसकेको जानकारी दिएको हो ।

८२ वर्षीय बाइडेनलाई युरिनसँग सम्बन्धित केही लक्षण देखिएपछि गत हप्ता चिकित्सककोमा जाँच गराएका थिए । परीक्षणपछि शुक्रबार उनलाई क्यान्सर भएको पुष्टि भएको हो ।

उनको क्यान्सर ‘हाई ग्रेड’ श्रेणीको रहेको जनाइएको छ, जसको अर्थ क्यान्सर कोशिकाहरू तीव्र गतिमा शरीरमा फैलिन सक्ने हुन्छन् । क्यान्सर रिसर्च यूकेका अनुसार यस्तो क्यान्सर बढी आक्रामक हुने सम्भावना हुन्छ ।

हाल बाइडेन र उनको परिवार क्यान्सरको उपचारका सम्भावित विकल्पहरूबारे समीक्षा गरिरहेको कार्यालयले जनाएको छ । साथै, यो क्यान्सर ‘हर्मोन–सेन्सेटिभ’ रहेकोले यसको उपचार सम्भव हुने जनाइएको छ ।

हर्मोन-सेन्सेटिभ क्यान्सरको अर्थ क्यान्सरको वृद्धिलाई केही विशेष औषधीय उपचारद्वारा नियन्त्रण गर्न सकिन्छ । पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको स्वास्थ्यप्रति चासो व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा उनले लेखेका छन्, ‘मेलानिया र म बाइडेनको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा सुनेर दुःखी छौं।’ ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छा व्यक्त गरेका छन् ।