समीक्षा र एलिनाले पछिल्लो समय सामाजिक सञ्जालमा आफूमाथि अभद्र भाषा प्रयोग गर्ने व्यक्तिहरूको टिप्पणीसहित तिनको नाम, फोटो र प्रोफाइल सार्वजनिक गर्ने अभियान चलाइरहेका छन् । उनीहरूले हालसम्म दर्जनौँ व्यक्तिहरूको अभद्रता उजागर गरेका छन्, जसले सामाजिक सञ्जालमा गैर जिम्मेवार अभिव्यक्तिहरू रोक्न सक्ने सकारात्मक सन्देश प्रवाह गरेको छ ।
प्रधानमन्त्री ओलीले आफूले सामाजिक सञ्जालमा समीक्षा र एलिनाको फोटो पोस्ट गर्दै लेखेका छन्, “साहसी छोरीहरू ।” उनले थप लेखेका छन्, “आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।”
प्रधानमन्त्रीको भनाइ अनुसार, समाजमा सकारात्मक कार्य गर्नेलाई निरन्तर गाली, टिप्पणी र अवहेलना हुने प्रवृत्ति बढ्दो छ, जसले परिवर्तनको पक्षमा उभिनेहरूलाई हतोत्साहित पारिरहेको छ । उनले भनेका छन्, “राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।”
समीक्षा अधिकारी र एलिना चौहान दुवै गायन र स्टेज प्रस्तुतिमार्फत आफ्नो सशक्त उपस्थितिको साथसाथै सामाजिक व्यवहारको प्रश्न उठाउँदै आएका छन् । उनीहरूको यो कदमलाई समाजमा शिष्टाचार र उत्तरदायित्वका दृष्टिले एक साहसी प्रयासको रूपमा हेरिएको छ । प्रधानमन्त्रीको प्रशंसाले अब यो अभियान अझ व्यापक बहस र चेतनाको विषय बन्ने अपेक्षा गरिएको छ ।