च्यासलमा ओली-भण्डारी संवाद- ‘मतभेद अन्त्य’ को दाबी

by cityhalkhabar
3 views

काठमाडौं,   – नेकपा (एमाले) भित्र चुलिँदो शक्ति संघर्ष र मतभेदको चर्चाबीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भएको ‘वान टु वान’ भेटवार्ताले तरंग पैदा गरेको छ । पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै पार्टीमा दुई धार स्पष्ट देखिन थालेपछि अध्यक्ष ओलीले पहिलोपटक भण्डारीलाई पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाएर वार्ता गरेका हुन् ।

भेटलाई एमाले नेताहरूले ‘मतभेद अन्त्य’ र ‘एकताको सन्देश’ भन्दै प्रचार गरेका छन् । करिब एक दशकपछि पार्टी मुख्यालय पुगेकी भण्डारी र अध्यक्ष ओलीबीचको यो भेटवार्तालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । खासगरी, भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि एमालेको सचिवालय र पोलिटब्युरो बैठकमा यस विषयले प्रवेश पाएको थियो । अध्यक्ष ओलीले भण्डारीको घोषणाबारे पार्टीमा कुनै छलफल नभएको बताउँदै आएका थिए भने पोलिटब्युरो बैठकमा अधिकांश सदस्यले दुई नेताबीच संवाद र समझदारी आवश्यक रहेकोमा जोड दिएका थिए । सोही सुझावअनुसार केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा यो भेटवार्ता आयोजना भएको हो ।

भेटवार्तापछि एमाले नेताहरूले सामाजिक सञ्जालमार्फत दुई नेताबीच कुनै मतभेद नरहेको र भविष्यका निर्णयहरू सहमतिमै हुने सन्देश प्रवाह गरेका छन् । एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय पूर्वराष्ट्रपतिज्यूको आजको भेटघाटको निष्कर्ष : ‘हाम्रा दुईका बीचमा मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, सहमतिमा हुन्छ, दरार पार्न खोजेर सम्भव छैन ।’

त्यस्तै, पोलिटब्युरो सदस्य सूर्य थापाले पनि दुई नेताको भेटलाई सकारात्मक मान्दै पार्टीभित्र दुईवटा धुरी बन्न नहुनेमा जोड दिएका छन् । उनले लेखेका छन्, ‘हामीले पोलिटब्युरो बैठकमा अध्यक्ष कमरेडलाई अनुरोध गरेको यसरी नै छलफल र समझदारी निर्माणको निम्ति थियो । … पार्टीभित्र दुईवटा धुरी बन्नुहुँदैन । उहाँहरूले आ-आफ्ना धुरी बन्न दिनुहुँदैन, पार्टी बनाउनुपर्छ । मिसन-२०८३/८४ का निम्ति सबल नेतृत्व, सुदृढ संगठन र एकताबद्ध पार्टी आजको आवश्यकता हो ।’

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमालेभित्र तरंग उत्पन्न भएको थियो । यसले पार्टी अध्यक्ष ओलीको नेतृत्वमाथि पहिलोपटक औपचारिक रूपमा प्रश्न उठेको विश्लेषण गरिएको छ । भण्डारीको पुनरागमनले एमालेभित्र शक्ति सन्तुलनको नयाँ खेल सुरु भएको र यसले अध्यक्ष ओलीलाई चुनौती थपिएको टिप्पणी हुँदै आएको थियो ।

भेटवार्ताअघि भण्डारीको सदस्यता नवीकरणको विषयलाई लिएर समेत विवाद देखिएको थियो । तर, भेटपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै भण्डारीले आफ्नो सदस्यता पहिल्यै नवीकरण भइसकेको बताएकी छन् ।

एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित ‘मिसन-२०८३/८४’ को नारा अघि सारेको छ । यो लक्ष्य प्राप्तिका लागि पार्टीभित्रको एकता र बलियो नेतृत्व अनिवार्य रहेको नेताहरूले बताउँदै आएका छन् । आइतबारको ओली-भण्डारी भेटलाई यही ‘मिसन’ लाई सफल पार्नका लागि नेतृत्व तहमा देखिएको मतभेदलाई व्यवस्थापन गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

भेटमा समसामयिक राष्ट्रिय राजनीति र भण्डारीलाई पार्टीमा दिइने जिम्मेवारीबारे छलफल भएको बताइएको छ । यद्यपि, भेटका विस्तृत विवरण गोप्य राखिएको छ। सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकले भण्डारीको भूमिका र पार्टीको आगामी रणनीतिबारे थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।